काठमाडौं । सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पहाडीलाई चार वर्षका लागि टेलिकमका प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।
पहाडी यसअघि २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशक थिइन् । निमित्तको जिम्मेवारी सम्हाल्दा पहाडी नायब प्रबन्ध निर्देशक थिइन् । त्यो बेला सरकारले अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई निमित्त प्रबन्ध निर्देशक भई काम गर्न दिने निर्णय गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसनधान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि टेलिकमको तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेको थियो । त्यसपछि सरकारले अदालतबाट फैसला नआउन्जेल टेलिकमको नेतृत्व पहाडीलाई निमिक्त प्रबन्ध दिएकी थिइन् ।
त्यसैगरी, तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी पहाडीले २०५१ फागुन १० मा स्थायी नियुक्ति लिएकी थिइन् ।