काठमाडौं । गाजामा इजरायल र हमासबीच जारी युद्ध शनिबार (सेप्टेम्बर ७ तारिख) १२औँ महिनामा प्रवेश गरेको छ । जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गरिरहे पनि युद्धविरामको अझै सम्भावना क्षीण रहेको छ ।
गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको हमासले इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्न माग गरिरहेको छ तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा–इजिप्ट सीमाको एक महत्त्वपूर्ण भूभागमा सेना राख्नुपर्नेमा जोड दिएका छन्।
हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा करिब एक हजार २०५ जनाको मृत्यु भएको थियो जसमध्ये अधिकांश सर्वसाधारण थिए । हमास शासित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा अधिकारीहरूले झण्डै ४१ हजार व्यक्ति व्यक्तिको मृत्यु भएको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकुले कब्जामा लिएका २५१ बन्धकमध्ये ९७ जना गाजामै छन् भने ३३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।
त्यसैगरी, नोभेम्बरमा एक हप्ताको युद्धविरामको क्रममा दर्जनौँ मानिस आदानप्रदान गरिएको थियो ।