काठमाडौँ , २८ भदौ । नयाँ धरहरा चढ्ने सर्वसाधरणको ईच्छा अब भने पूरा हुने भएको छ । नवनिर्मित २२ तले धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा सर्वसाधारणलाई समेत धरहरा खुला गर्ने निर्णय गरेको हो ।
२०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ढलाएको धरहरा पुनर्निर्माण गरिएको छ । अहिले धरहरा भित्रबाट २२ तलाको बनाइएको छ । धरहराको उचाइ जमिनबाट ८३.५८ मिटर छ । १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो । त्यसबेला २ तला भत्किएर ९ तलामा सीमित बनेको थियो ।