बलराम शिवाकोटी
दोलखा, ११ चैत ।
ललितपुर महानगरपालिकाले दोलखाको भीमेश्वर नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । ललितपुर महानगरपालिका र दोलखाको भीमेश्वर नगरपालिकाविच भगिनी सम्बन्ध स्थापनाको १ वर्ष पुगेको अवसरमा शुक्रबार चरिकोटमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

महानगरप्रमुख महर्जनले भीमेश्वर नगरपालिका भित्रमा सांस्कृतिक सम्पदा निर्माण तथा संरक्षण गर्नका लागि सो रकम हस्तान्तरण गरिएको ललितपुर महानगरपालिकाका मेयर महर्जनले बताए । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगर र भीमेश्वर नगरपालिकाविच मितेरी सम्बन्ध रहेको तथा दुई पालिकाविच सांस्कृतिक सम्बन्ध रहेकोेले विकास निर्माण तथा संस्कृति संरक्षणमा हातेमालो गर्ने बताए । भीमेश्वर नगरपालिका भित्र आउँदा मितको घर आएको जस्तो आफूलाई अनुभव भएको बताउँदै आउँदा दिनमा थप सहयोग र सहकार्य गर्नेसमेत बताए । भीमेश्वर नगरपालिकालाई नगरपालिकाहरुको अन्तर्राष्ट्रिय स्तरको संगठनमा आबद्धताको लागिसमेत सहयोग गर्र्ने बताए ।

कार्यक्रममा बोल्दै भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले महानगरले आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै महानगरबाट भीमेश्वर नगरपलिकाले विकास तथा संकृति संरक्षणका बारेमा धेरै कुरा सिक्नुपर्ने बताए । भीमेश्वर नगरपालिका भौगोलिक तथा जनसंख्याको हिसाबले सानो नगरपालिका भएपनि प्राकृतिक तथा सांस्कृतिक सम्पदामा धनी भएको भन्दै मेयर मानन्धरले महानगरको विकासको मोडेलमा आफूहरुले पनि भीमेश्वरको विकास गर्न खोजेकोे बताए । मेयर मानन्धरले ललितपुर महानगर र भीमेश्वर नगरपालिकाबीच धेरै भिन्नता भए पनि संस्कार र संस्कृतिमाल भने एक रूपता भएको बताए ।
यसैबिच ललितपुर महानगर र भीमेश्वर नगरपालिकाबीच सांस्कृतिक र साहित्यिक विषय आदानप्रदान गर्न साहित्यिक–सांस्कृतिक संयन्त्र बनेको छ ।

उक्त संयन्त्रमा ललितपुर महानगरका तर्फबाट सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता राजु महर्जन, पूर्वाधार विकास समितिका संयोजक चन्द्र महर्जन, सामाजिक विकास समितिका सदस्य तथा वडा नं.१ का अध्यक्ष निर्मल तण्डुकार, नगर प्रमुखका राजनीतिक सल्लाहकार बाबुराज महर्जन र महानगर प्रशासन महाशाखा प्रमुख सागर थापा रहेका छन् भने भीमेश्वर नगरपालिकाबाट सामाजिक विकास समितिका संयोजक स्टालिन श्रेष्ठ, नगरपलिकाका प्रवक्ता तारानाथ चौलागाई, वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, शिक्षा शाखा प्रमुख अर्जुन कार्की र ईन्जिनियर सुरेश राउत रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय