डम्बर चौलागाई
दोलखाको तामाकोशी गाउँपालिका, ३ जफेमा वि.सं २००६ साल भदौ १६ गते बुबा गोपिलाल न्यौपाने र आमा सावित्री न्यौपानेको कोखबाट जन्मिनु भएका स्वर्गीय देवी न्यौपाने दोलखाको कांग्रेसभित्र मात्र नभएर देशकै एक निष्ठावान्, सरल र सादगी व्यक्तित्वको रुपमा चिरपरिचित नाम हो ।
उहाँले औपचारिक शिक्षाका रुपमा आई ए सम्मको अध्ययन गर्नु भएको थियो । उहाँको राजनैतिक पृष्ठभूमिलाई हेर्दा गौरीशंकर क्याम्पसको छात्र संघमा सक्रिय सहभागिताबाट सुरु भएको देखिन्छ । वि.सं २०२६ सालमा नेपाली कांग्रेसको साधारण सदस्य, वि.सं २०२७ सालमा नेविसंघ दोलखा जिल्ला प्रतिनिधि, वि.सं २०२८ सालमा नेविसंघ दोलखा जिल्ला संयोजक, वि.सं २०३४ सालमा नेपाली कांग्रेस पार्टी सचिव, त्यसैगरी २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा प्रचार–प्रसारमा सक्रिय सहभागिता जनाउनु भएको थियो । वि.सं २०३८ सालमा पञ्चायती शासनको सुरक्षा कानुन अन्तरगत नजरबन्दमा समेत पर्नुभएको थियो । २०४२ सालमा सत्याग्रहमा सक्रिय सहभागिता जनाउनु भएका देवी न्यौपानेले २०४६ सालको जनआन्दोलनमा प्रजातन्त्र र जनजीविकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । यसै क्रममा २०४७ सालमा नेपाली कांग्रेस दोलखाको पार्टी सभापति हुनुभएको थियो । वि.सं २०४८ सालदेखि निरन्तर रुपमा कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रुपमा रहि पार्टी प्रति ईमान्दार, निष्ठावान र जिम्मेवार भएर जीवनको अन्तिम क्षणसम्म कांग्रेस पार्टीका गतिविधिमा सक्रिय रहनुभएको थियो । देवी न्यौपानेको वि.सं २०७८को बैशाख ९ गते देहवसान भएको थियो ।
जनता र लोकतान्त्रिक प्रजातन्त्रको निमित्त उहाँले पटक पटक जेल जीवन र हिरासतको कठोर यातनासमेत भोग्नु भएको थियो । काठमाडौंको नख्खु जेल र विरगन्जमा समेत जेल जीवन विताउनु भएको थियो । नेपाली कांग्रेस पार्टीमा नै आफ्नो सम्पूर्ण जीवन समर्पण गरेर पार्टीलाई जनमुखी तथा लोकतान्त्रिक पार्टी बनाउनु पर्छ भनेर धेरै ठुलो संघर्ष र त्याग गर्नु भएको देखिन्छ । नेपाली राजनीतिमा निष्ठा र त्यागको खडेरी परेका बेला स्वर्गीय भीम बहादुर तमाङ जस्तै सरल र निष्ठावान तथा त्यागी नेताको रुपमा हेरिन्छ देवी न्यौपानेलाई । नेपाली कांग्रेस पार्टीले दोलखाका आदर्श राजनीतिज्ञ भीम बहादुर तमाङ र देवी न्यौपानेलाई स्मरण गर्नु र उहाँहरुको अनुकरण गर्न सक्नु पर्दछ ।
स्वर्गीय देवी न्यौपानेमा वीपी कोइरालाको जस्तो विचार र आदर्श, सुवर्ण सम्सेरको जस्तो निष्ठा, गणेशमानको जस्तो त्याग, कृष्णप्रसाद भट्टराईको जस्तो सरलपन र सादगी आचरण पाउन सकिन्थ्यो । राजनीतिको नाममा नेतृत्वमा पुग्ने र सत्ताको शिखरमा पुगेपछि राजनैतिक मूल्य र मान्यतालाई तिलाञ्जली दिई सुखभोग गर्नेहरुलाई उहाँको त्याग र निष्ठाको राजनीति गतिलो झापड हो । लोकतान्त्रिक मूल्य र मान्यतामा कहिल्यै डगमगाउनु भएन देवी न्यौपाने । आजको पुस्ताले पनि उहाँले आत्मासात् गरेका राजनैतिक मूल्यमान्यता र असल आचरण सिक्नु आवश्यक छ ।
आफनो जन्मभूमिलाई अत्यन्तै माया गर्ने देवी न्यौपाने गाउँ घरमै बसेर जनताको सुख दुःखमा हातेमालो गर्नुहुन्थ्यो । उहाँमा कहिल्यै ठूलो राजनैतिक पद र प्रतिष्ठाको महत्वकांक्षा पटक्कै देखिएन । गाउँको विकास गरे मात्र देशको विकास हुने कुरामा उहाँको स्पष्ट विचार थियो । गाउँघरको शिक्षाको विकासमा पनि उहाँको उल्लेखनीय योगदान रहेको पाइन्छ । लोकतान्त्रिक सिद्धान्त र जनता प्रतिको समर्पण भाववाट उहाँ कहिल्यै विचलित हुनुभएन । कहिल्यै पद र पैसाको पछि लाग्नु भएन । आजीवन जनताको सेवा , पार्टीको हित र भलाईमा चिन्तन गरिरहनुभयो । यसरी जन सेवामै समर्पित, जनसेवाटै खुसी र आनन्दको अनुभूत गर्न सक्ने महान सोचका धनी, असल व्यक्तित्व, अविरल, अविचलित सिद्धान्त बोक्ने, सरलता सम्पन्न एक होनहार लोकतान्त्रिक योद्धाको इतिहासका पानाबाट कहिल्यै नमेटिने नाम हो देवी न्यौपाने । उहाँले देखाएको राजनीतिक निष्ठाको बाटोमा कांग्रेस पार्टी र यसमा आवद्ध कार्यकर्ता हिड्न सके मात्र उहाँ प्रति सच्चा सम्मान हुनेछ । उहाँप्रति हार्दिक श्रध्दाञ्जली !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय