दोलखा, ११ असोज । सुन जस्तो पहेलो धातु तस्करी प्रकरणमा दोलखा प्रहरीले थप दुई जना अभियुक्तहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले बिहीवार बेलुका थप दुई जना पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुलाई दोलखाको सदरमुकाम चरिकोट स्थित एक होटलबाट पक्राउ गरेको हो ।

विहिवार साँझ जिल्ला प्रहरी कार्यालय दोलखाले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

विहिवार पक्राउ पर्ने थप दुईजनामा दोलखा जिल्ला विगु गाउँपालिका वडा नम्बर एकका नुर्वु छिरिङ शेर्पा तथा सुनमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।

बुधवार बेलुका विगु गाउँपालिका वडा नम्बर तीन जामुनेमा रहेको सीता तामाङको घरमा अबैध सुन तस्करी गरी ल्याई लुकाएको सूचनाका आधारमा प्रहरीले खान तलासी गर्दा सीताको घरमा डेरा गरी वस्ने केशर बहादुर तामाङको कोठाबाट सुनजस्तो देखिने करिब चार केजी बरावरको पहेँलो धातु बरामद भएको थियो । सो पहेँलो धातु तस्करी गरेको आरोपमा बुधबार राती नै दोलखाको विगु गाउँपालिका वडा नम्बर एकका पेम्बा तामाङ, माधव मगर तथा केशर तामाङलाई पक्राउ गरिएको थियो । उनीहरुबाट बयानको क्रममा थप दुई जनाकोसमेत नाम आएपछि नुर्वु छिरिङ शेर्पा तथा सुनमाला तामाङलाई चरिकोटबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काको भनाई रहेको छ ।

उक्त बस्तु सुन हो वा होइन भनी परीक्षण गर्ने मेसिन चरिकोटमा नभएकोले परीक्षणको लागि सम्बन्धित निकायमा पठाउने तयारी भईरहेको डिएसपी खड्काले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय