काठमाडौँ,१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबिचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए । उनले नेपालको विकास र समृद्धिका लागि चिनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गरे ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबिच लामो समयदेखि मित्रवत् र समस्यारहित एवं हार्दिक सम्बन्ध रहीआएको उल्लेख गर्दै चीनले विकास र प्रविधिका क्षेत्रमा तीव्र रूपमा गरेको विकास र त्यसको विश्वव्यापी प्रभावबाट आफू प्रसन्न रहेको बताए ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै उक्त भ्रमण बहुआमिक र ऐतिहासिक रहेको उल्लेख गरे ।